२०८० चैत्र १६ , शुक्रवार

निक्षेपको ब्याजदर नबढ्ने, यस्तो छ नेपाल बैंकर्स संघको निर्णय !

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ ।

‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन । यसले ब्याजदरमा अस्थिरता मात्र बढाउँछ,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘यसकारण जेठका लागि पनि वैशाखकै बराबर ब्याजदर प्रकाशित गर्ने सहमति भएको छ ।’ गत फागुनमा निक्षेपको ब्याजदर बढाएका वाणिज्य बैंकहरुले चैत र वैशाखमा पनि स्थिर राखेका थिए ।

वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत तोकेका छन् । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसके पनि विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले बुधबारसम्म निर्णय गरिसकेका छैनन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि उनीहरुले पनि पुरानै दर कायम राख्ने सम्भावना छ ।