२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

सुनाखरी न्युज/ काठमाडौं । यो साताको सुरुवातदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर वृद्धि भइरहेको छ । साताको कारोबारको चाथोे दिन पनि आज बुधबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।

 

आज नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १९२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, इमर्जीङ नेपाल, अरुण काबेली पावर कम्पनी र पाँचथर पावर कम्पनीको पनि शेयरूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।