२०८१ बैशाख ६ , बिहिवार

निर्वाचनका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको सरकारले जनाएको छ । शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७ सय ५३ स्थानीय तहका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९ सय ४६ अति संवेदनशील र चार हजार ४ सय २३ संवेदनशीलको सूचीमा छन् । निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ ।

 

अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ । प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्वपुर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ ।