२०८१ बैशाख ७ , शुक्रवार

इन्जिनियर गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध मुद्दा दायर गरेका हुन् ।

 

इन्जिनियर गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत ६ जनाले खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरेको भन्ने उजुरी परेको थियो । ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई उनीहरुले भुक्तानी गरेको पाईएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरेको पाईएको छ । उनीहरुले गलत विवरण समेतलाई समेटी झुट्टा बिल भरपाई बनाई सो बिल अनुसार ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भुक्तानी दिने र लिने कार्य गरेका थिए ।

 

माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा आफुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्यसमेत गरेको देखिएको हुँदा आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयागले जनाएको छ ।