२०८१ बैशाख ११ , मंगलबार

ब्लुटुथ भएको नाइकको स्मार्ट जुत्ता, जसमा आफैं तुना बाँधिन्छ

सुनाखरी न्युज/ काठमाडौं –

तपाईंले स्मार्टफोन, स्मार्टवाच तथा अन्य स्मार्ट ग्याजेटहरू त प्रयोग गर्नुभएकै छ होला । तर के तपाईंले स्मार्ट जुत्ता प्रयोग गर्नुभएको छ ? जुत्ता उद्योगमा स्मार्ट प्रविधिको रिक्तता पूर्ति गर्दै चर्चित जुत्ता ब्राण्ड Nike ले नयाँ स्मार्ट जुत्ता सार्वजनिक गरेको छ ।

 

नाइकको यो जुत्ता स्मार्ट तथा पूर्णरुपमा अटोमेटिक छ । यो जुत्ताले रोबोटले जस्तै आफ्नो तुना आफैले बाँध्दछ । उक्त जुत्तामा ब्लुटुथ कनेक्टिभिटी पनि रहेको छ । नाइकको उक्त स्मार्ट जुत्ताको नाम Adapt BB हो । यो जुत्ताको लुक्स बास्केटबल खेलाडीले लगाउने जुत्ता जस्तै रहेको छ । यो जुत्ता जब तपाईंले खुट्टामा लगाउनुहुन्छ तब यसको फित्ता स्वचालित रुपमा आफैं बाँधिन्छ ।

 

यदि तपाईं बास्केटबल खेलाडी हुनुहुन्छ भने यसरी आफैं तुना बाँधिनु त कुनै गज्जबको उपहारभन्दा कम होइन । Nike Adapt BB जुत्ताले ब्लड प्रेसर पनि मापन गरिदिन्छ । यदि तपाईं यो जुत्ता लगाएर कतै हिँडिरहनु भएको छ र तपाईंको खुट्टा सुन्निएको छ भने तपाईंको ब्लड प्रेसरको हिसाबले यो जुत्ता आफैं खुकुलो बन्दछ ।

 

अर्थात् तपाईंको खुट्टाको आवश्यकता अनुसार यो आफैं खुल्ला वा कसिलो बन्न सक्दछ । एउटा एपबाट यो जुत्तालाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । स्मरण रहोस् नाइक कम्पनीले यसअघि पनि Nike + iPod तथा Nike + iPod लगायतका स्मार्ट जुत्ता ल्याइसकेको छ । ती स्मार्ट जुत्तालाई प्रयोगकर्ताले मन पनि पराएका छन् ।  एजेन्सी