२०८० चैत्र १५ , बिहिवार

टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

सुनाखरी न्युज/ काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ । कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदैछ ।

 

टाटा मोटर्सले इन्धनबाट चल्ने सवारी उत्पादनसँगै बिजुलीबाट चल्ने सवारी उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ । कम्पनीले नयाँ भेरियन्टका गाडीहरू सार्वजनिकसँगै आफ्नो उत्पादन क्षमता पनि बढाएको छ । यस्तैमा हालै टाटा टियागोको ४ लाख औं गाडी बिक्री भैई सकेको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको थियोे । टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो । टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ । टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।

 

१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ । टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ । टाटा टियागोले प्रतिलिटर २०।०९ किलोमिटरसम्मको माइलेज दिन्छ । टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल छ । कम्पनीले टियागो निर्माण समय यात्रु सुरक्षालाई विशेष ध्यानमा राखेको छ । ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ । यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ । टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् । त्यस्तै, गाडीमा पंचर रिप्यर किट पनि राखिएको छ ।

 

गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि छ । टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनिमा पनि विशेषत ध्यान पु¥याएको छ । टियागोको भित्री भाग निकै फराकिलो छ । चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् । टियागोको ड्यासबोर्ड सफा र डुअल टोन (दुई रंग) मा छ । ड्राइभर सिट पनि चालकले आफू अनुकुल मिलाउन सक्ने भएकाले गाडी चलाउनेलाई सहज हुन्छ । गाडीको अगाडि भागको सिटहरूको हेडरेस्ट छ । यसलाई चालक र यात्रुको सहजताको आधारमा मिलाउन सकिन्छ । त्यस्तै, यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पाउन सकिन्छ । कुल्ड ग्लोबबक्समा यात्राको समय आवश्यक पानी, पेय पदार्थ, फलफूल लगायत खानेकुराहरू राख्न सकिन्छ । यसो गर्दा ती वस्तुहरू गाडी भित्र तात्तिने समस्या पनि हुँदैन ।

 

टियागोमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । साथै, ७ इन्चको इनफोटेनमेन्ट स्क्रिन छ । यसमा एप्पल कार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश छ । गाडीमा ८ वटा स्पीकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्छन् । टाटा मोटर्सले जति टियागोको आन्तरिक विशेषता, सुरक्षा र आरामदायिकतामा काम गरेको छ । उत्तिकै ध्यान गाडीको स्टाइल र बाहिरी आवरणमा पनि दिएको छ । पाँच सिटर टाटा टियागो भारतमा निर्मित गाडी हो । यसको बाहिरी डिजाइन निकै स्टाइलिस र स्पोर्टी छ । यसको एंगुलर हेडल्याम्प, क्रोम गार्निस्ड फग ल्याप्प, पियानो कालो रंगमा रहेको रिअर मिररलगायतले गाडीलाई निकै आकर्षक देखाएको छ।

 

यसको हेडलाइट पनि चकिलो छ । टियागोमा डुअल टोन बम्पर छ, जसले गर्दा गाडीलाई स्टाइलिस देखाएको छ । त्यस्तै, टियागोमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ । अलोय ह्विलहरू डायमन्ड कट हुनुका साथै डुअल टोन रंगमा छ, जसले गाडी निकै प्रिमियम देखिन्छ । गाडीको पछाडि भाग र फिनिसिङमा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ । यसको टेललाइट ट्रेन्डी बुमर आकारको छ । टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २,४०० एमएम ह्विलबेस छ । टियागोको डिकी क्षमता पनि बढी छ । २४२ लिटरको डिकी क्षमता भएको टियागोमा कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईंलाई आवश्यक सामग्रीहरू यहाँ सहजै अटाउन सक्नुहुन्छ ।