२०८१ बैशाख ८ , शनिवार

क्यान्सर जितेर १०४ दिनमा १०४ म्याराथन दौडिएकी कीर्तिमानी अमेरिकी महिला

सुनाखरी न्युज/ काठमाडौं –

क्यान्सरका कारण देब्रे खुट्टा गुमाएपछि दौडन सुरु गरेकी एक महिलाले लगातार सबैभन्दा धेरै म्याराथन दौडने विश्व कीर्तिमान भङ्ग गरेकी छन्। ज्याकी हन्ट-ब्रोएर्सले ४६ वर्षको उमेरमा गत ज्यानुअरीको मध्यदेखि प्रत्येक दिन एउटा म्याराथन दौडेकी छन्। एउटा म्याराथन पूरा गर्न झन्डै पाँच घण्टा लाग्छ।

 

शनिवार उनले १०४ दिनमा १०४ म्याराथन दौडेकी छन् र त्यो उपलब्धिलाई गीनीज बुक अफ वर्ल्ड रेकर्ड्सले प्रमाणित गर्ने आशा गरेकी छन्। एक प्रवक्ताले त्यो उपलब्धि प्रमाणित गर्ने कार्यका लागि तीन महिना जति लाग्ने बताएका छन्।आइतवार धेरे दिनपछि म्याराथन नदौडनु पर्दा अनौठो लागेको उनले बताइन्। “म एक हिसाबले यो सकिएकोमा खुसी थिएँ,” अमेरिकी हन्ट-ब्रोएर्सले बीबीसीलाई भनिन्। “अर्कोतर्फ म सोचिरहेँ कि म दौडन जानुपर्छ।” उनको शरीरले पनि लामो मिहिनेतपछि विश्राम खोजिरहेको छ। “१०४ म्याराथन दौडेपछि मलाई अलि असहज भएको छ,” उनले भनिन्।

 

दक्षिण अफ्रिकामा जन्मेर उतै हुर्केकी हन्ट-ब्रोएर्सलाई दौडले त्यो आत्मविश्वास दिएको छ जुन उनलाई क्यान्सरपछि कहिल्यै नपाइने डर थियो।सन् २००२ मा नेदरल्यान्ड्समा चिकित्सकले उनलाई विरलै देखिने हड्डीको क्यान्सर लागेको पत्ता लगाए। उनी २६ वर्षको हुँदा उनको जीवन रक्षाका लागि त्यसको दुई सातापछि नै उनको देब्रे खुट्टा काटियो। “सबै कुरा तीव्र गतिमा भयो,” उनी सम्झन्छन्। पहिलो दुई वर्ष उनलाई बद्लिएको जीवनसँग सङ्घर्ष गर्नुपर्‍यो। क्यान्सर लागेकोमा उनी क्रुद्ध थिइन् र खुट्टा नभएकोमा लज्जित महसुस गरिरहेकी थिइन्। सार्वजनिक स्थानमा नक्कली खुट्टा नदेखाउन उनी लामो लुगा लगाउँथिन्।

 

सन् २०१६ मा भने उनले दौडन सुरु गरिन्।उनले लामो दूरीको दौड दौडने पतिको हौसला त बढाउँथिन् तर त्यो काम अनौठो सोख भएका मानिसले मात्रै गर्ने ठानेर आफू दौडने सोचेकी थिइनन्। लामो दूरीका धावकहरूले प्रयोग गर्ने नक्कली खुट्टा किनेर उनले १० किलोमिटर दौडमा भाग लिन नाम लेखाइन्। दौडको अघिल्लो दिन उनले आफ्नो नाम हाफम्याराथनमा सारिन् र त्यसयता उनले पछाडि फर्केर हेरेकी छैनन्। “म कि सबै गर्ने कि गर्दै नगर्ने खालको व्यक्ति हुँ। त्यसैले म दौडमा पूरै लागेँ,” उनी भन्छिन्। यो वर्षको सुरुमा हन्ट-ब्रोएर्सले आफैलाई नयाँ चुनौती दिइन्: लगातार सबैभन्दा धेरै म्याराथन दौडने।गीनीज बुक अफ वर्ल्ड रेकर्ड्समा महिलाले लगातार सबैभन्दा धेरै म्याराथन दौडेको कीर्तिमान अलिसा अमोसको नाममा छ। उनले दुई वर्षअघि महामारीसँग लड्न लगातार ९५ म्याराथन दौडेकी थिइन्।

 

पुरुषको नाममा रहेको कीर्तिमान इटलीको इन्जो कापोरासोको छ जसले लगातार ५९ म्याराथन दौडेका थिए। हुन त स्पेनका रिकार्डो अबादले लगातार ६०७ म्याराथन दौडेको दाबी गरेका छन्। दुई बच्चाकी आमा हन्ट-ब्रोएर्सले प्रत्येक दिन कम्तीमा म्याराथनको दूरी पार गरेर दौडँदै यो कीर्तिमान भङ्ग गर्न खोजेकी हुन्। उनले १०४ दिनमा दुई म्याराथन प्रतियोगितामा भाग लिइन् र अन्य दिन स्थानीय बाटो वा ट्रेडमिलमा पनि दौडिइन्।उनले सुरुमा १०० दिन दौडने योजना गरेकी थिइन् तर यसैबीच ब्रिटिश केट जेडेनले अलिसाको कीर्तिमान १०१ म्याराथन दौडेर भङ्ग गरेको दाबी गरिन्, हन्ट-ब्रोएर्सले त्यसलाई जित्न १०४ दिन दौडिइन्।

 

उनले यी १०४ दिनमा कूल ४,४०० किलोमिटरको दूरी दौडिएकी छन्। आफ्नो प्रयासलाई सोसल मिडियामा अद्यावधिक गर्दै उनले ८८ हजार अमेरिकी डलर खुट्टा नभएका धावकहरूलाई सहयोग गर्ने संस्थालाई सहयोग जुटाइन्।”दौडले मेरो मानसिक अवस्थामा धेरै फरक पारेको छ र मलाई मेरो शरीर कति बलियो हुन सक्छ भनेर देखाएको छ। यसले मलाई म जस्तो छु त्यही स्वीकार्न सहयोग गरेको छ।” उनको अबको लक्ष्य अक्टोबरमा आयोजना हुने ३८६ किलोमिटरको कठिन दौड पूरा गर्नु रहेको छ।  बिबिसिबाट साभार