२०८१ बैशाख ७ , शुक्रवार

ल्यापटप छिट्टै तात्ने समस्या छ ? यसरी समाधान गर्नुहोस्

सुनाखरी न्युज/ काठमाडौं –

कोरोना महामारीपछि संसारमा विभिन्न ठूला-ठूला परिवर्तनहरू देखिएका छन् । यसले व्यवसाय, शिक्षादेखि लिएर विश्वका सबैजसो क्षेत्रलाई महामारीले प्रभावित गरेको थियो । महामारी पश्चात् मोबाइल फोन तथा ल्यापटप जस्ता अनलाइन डिभाइसको माग उच्च रुपमा बढ्यो ।

 

कामकाजी मानिसहरूले घरबाटै काम गर्ने तथा विद्यार्थीहरूले घरबाटै पठनपाठन गर्नुपर्दा मोबाइल फोन तथा ल्यापटप अनिवार्य बन्यो । कम्प्युटर तथा ल्यापटप जस्ता ग्याजेटहरुको प्रयोगसँगै अनेक खालका प्राविधिक समस्याहरु जोडिएर आउनु स्वभाविकै हो । त्यसमध्ये एउटा मुख्य समस्या भनेको ल्यापटप छिटै तात्नु । यदि तपाईं पनि ल्यापटप प्रयोग गर्नुहुन्छ र तपाईंको ल्यापटपमा पनि बढि तात्ने समस्या छ भने यस्तो समस्या समाधानका लागि तपाईं आफैंले केही उपाय अपनाउन सक्नुहुन्छ । ठूलै प्राविधिक समस्या छैन भने यस्ता उपाय पनि ल्यापटपको तापक्रम कम गर्न उपयोगी हुन्छन् ।

 

ल्यापटपभित्र हावा आवतजावत अर्थात् भेन्टिलेसनका लागि ल्यापटपमा सीपीयू पंखा राखिएको हुन्छ ।  ल्यापटप पुरानो हुँदै जाँदा ल्यापटपभित्र धुलो तथा फोहोर जम्मा हुने र त्यसले पंखाले बाहिर फ्याँक्ने तातो हावासमेत रोक्ने गर्दछ र भेन्टिलेसन राम्रोसँग हुन पाउँदैन । जसका कारण केही बेर चलाउँदैमा ल्यापटप तात्न थाल्दछ । त्यसैले तपाईंले ल्यापटपभित्र जमेको धुलो तथा फोहोर सफा गर्नुपर्दछ । कुनै ल्यापटप मर्मत पसलमा लगेर वा आफुलाई ल्यापटपको हार्डवेयरको बारेमा जानकारी वा सीप छ भने आफैंले पनि ल्यापटप खोलेर नरम ब्रसले सीपीयू तथा कुलिङ सिस्टममा जमेको धुलो सफा गर्न सकिन्छ ।

 

यदि तपाईंले ल्यापटप चार्ज गर्न कुनै बाहिरी चार्जर प्रयोग गर्नुहुन्छ भने पनि करेन्ट प्रवाहमा गडबडी हुँदा ल्यापटप तात्ने सम्भावना हुन्छ । यसले ल्यापटपमा प्राविधिक समस्या आउने जोखिम पनि हुन्छ । त्यसैले सधै आफ्नै ओरिजिनल चार्जरबाट मात्रै ल्यापटप चार्ज गर्नुहोस् । कतिपयको बानी लामो समयसम्म चार्जमा राखेर छाड्ने वा लामो समयसम्म चार्जमा राखेर ल्यापटप चलाइरहने हुन्छ । यसो गर्दा ल्यापटपमा ओभर चार्जिङ भएर तात्ने सम्भावना हुन्छ । त्यसैले ल्यापटप पूरा चार्ज भएसँगै चार्जरलाई बाहिर निकाल्नुपर्दछ ।

 

चार्ज गरिरहेको बेला ल्यापटप चलाउनुभन्दा चार्ज गरिसकेपछि चार्जर निकालेर ल्यापटप चलाउँदा तात्ने समस्या कम हुन्छ । प्रायः ल्यापटप तात्नुको मुख्य कारण पृष्ठभूमिमा चलिरहेका एप्लिकेसनहरु हुन्छन् । त्यसैले तपाईंले आफ्नो ल्यापटपबाट अनावश्यक एपहरू तुरुन्तै डिलिट गरिदिनु पर्दछ । यसले ल्यापटपलाई बढी तातो अर्थात् ओभरहिट हुने समस्या क मगर्न सहयोग गर्दछ ।  एजेन्सीको सहयोगमा