२०८१ जेठ ७ , सोमवार

सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । विसं.२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

 

२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २०६९ मा प्रहरी उपरीक्षक (एसपी) हुँदा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ । त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । गतहप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त हुनुभएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।