२०८० चैत्र १६ , शुक्रवार

अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।

 

इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा बाहिरबाट ब्यान्डविथ खरिद गरेर इन्टरनेट सेवा दिइरहेका छन्। उनीहरूले विदेशीसँग खरिद गरेर प्रयोग गरेको ब्यान्डविथकोे भुक्तानी विदेशी मुद्रामा दिनुपर्छ। तर सरकारले भुक्तानी गर्न विदेशी मुद्रा दिन रोक लगाएपछि सेवा बन्द हुने अवस्थामा आएको बताइएको छ।

 

आइस्पानले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा सञ्चार मन्त्रालयले पूर्ण रोक लगाएको छ। मन्त्रालयको सिफारिस पछि राष्ट्र बैंकले विदेशी मुद्रा प्रदान गर्छ। आइस्पानका अनुसार ६ महिनादेखि ब्यान्डविथ खरिद गरेको भुक्तानी गर्न सकिएको छैन।

 

आइस्पान अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चार मन्त्रालय नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न लागेको आरोप लगाए। आइस्पानले सरकारले इन्टरनेट सेवामा ४५ प्रतिशतभन्दा बढी कर लगाएको आरोप पनि लगाएको छ।