२०७९ जेठ २ , सोमवार

मातातीर्थ औंशी र यसको परम्परागत महिमा

चक्रपाणि शर्मा गौतम – मातातीर्थ औंशीलाई आमाको मुखहेर्ने दिन भनेर बुझ्ने गरिन्छ।हिन्दु धर्मशास्त्रमा माता(आमा)लाई धरती(प्रिथ्वी) भन्दापनि महान र पिता(बाबा)लाई आकाश भन्दापनि उच्च स्थान दियिएको छ।माता-पिता मध्ये माताको स्थान र महिमा पीताको भन्दा अग्रपङ्तिमा आऊंछ।हिन्दु समाज र परम्परा अनुसार प्रत्येक जनजिब्रोमा झुण्डिएको एक लोकोक्ति छ–पोलेपनि घामै जाति,कुटेपनि आमै जाति।

धर्ति मै छ सबै चीज खोजे मिल्छ घरी-घरी,

तर जन्म दिने आमा पाईंदैन कसैगरी।

हो,यस संसारमा जे खोज्यो त्यो पाईन्छ,तर जन्म दिने आमा जस्तो ब्यक्ति जति खोज्दै गएपनि कहिल्यै पाउन सकिंदैन। आमालाई नदी,प्रिथ्वी,बोट-ब्रिक्ष,पहाड-पर्वत,सागर,आदि समान मानिएको छ। आफ्ना सन्तानको लालन-पालन,भोक-तिर्खा,ऐश-आनन्द,सुख-सयल,आदिका निम्ति जस्तोसुकै दु:ख-कष्ट धारण गर्नपनि आमा सदा-सर्बदा तत्पर रहिरहन्छिन भनेर शास्त्रमा ब्याख्या गरिएको छ। आफ्ना सन्तानको खांतिर जति पितालाई हुन्छ,त्यसको कैयौंगुणा बढी आमालाई हुन्छ जुन साशत:सत्य हो।यस संसारमा माताको कोखबाट जसले जन्म लिन्छ,उसमाथि (१)देव ऋण,(२)ऋषि ऋण,(३)पित्रि ऋण गरी तीन प्रकारका जन्मसिद्ध ऋणहरु थाप्लोमा लादिएको हुन्छ।पित्रि ऋण चुक्ता गर्न त मर्यादापुत्र श्रवणकुमार जस्ताले पनि सकेनन होला भने अरुको के कुरा गरौं?तर कुरा यहांनेर के छ त भने पित्रि ऋणबाट मुक्त हुनका निम्ति प्रत्येकले आफ्ना माता-पिताको सेवा अनवरत रुपले गरिरहन भने नितान्त आवश्यक छ।दुर्गासप्तशती(चण्डी) को पांचौं अध्यायको ७१ औं श्लोकमा भनिएको छ—

या देवी सर्वभूतेषु मात्रिरुपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।

भावार्थ:—जो देवी सबै प्राणीमा माताको रुपले स्थित रहेकी छिन त्यस्ति देवीलाई वारंवार नमस्कार छ।यसरी शास्त्रमा माताको रुपमा देवी बिराजमान छिन भनेर प्रमाणित गरिएको छ।मात्रि देवो भव:(आमालाई देवता सरह मान),पित्रि देवो भव:(बाबालाई देवता सरह मान),,,,जस्ता देव वाणीहरुले यस संसारमा छोरा-छोरीका निम्ति यदि कुनै ईश्वर यहां छन भने ती हुन उनीहरुका माता र पिता भनेर अर्थ्यायिएको छ।शास्त्रमा माता-पिताका निम्ति छोरा बंश हो भने छोरी अंश हो,छोरा तन हो भने छोरी मन हो,छोरा मान हो भने छोरी सम्मान हो,छोरा संस्कार हो भने छोरी संस्क्रिति हो,छोरा भाग्य हो भने छोरी बिधाता हो,छोरा शब्द हो भने छोरी अर्थ हो,छोरा गीत हो भने छोरी सङ्गीत हो, छोरा सुख हो भने छोरी खुशी हो,छोरा प्रेम हो भने छोरी पूजा हो,छोरा घर हो भने छोरी संसार हो,आदि भनेर वर्णन गरिएको छ। आफ्ना माता-पिता र माईतीको मान-मर्यादा,ईज्जत-प्रतिष्ठा,यश,आदिलाई सदा उच्च राख्नका निम्ति छोराले भन्दा छोरीले आफ्नो जीवनभर जस्तोसुकै उत्सर्ग गर्नपनि पछि पर्दैनन भनेर हिन्दु धर्मशास्त्रमा किटानका साथ भनिएको पाईन्छ।

 

मातातीर्थ औंशीका दिन आमाको श्रद्धा- सम्मान र संझना गर्ने,कुशे औंशीका दिन पिताको श्रद्धा- सम्मान र सम्झना गर्ने भनेर यी दुबै दिनलाई हिन्दु धर्मशास्त्रमा बिशेष पर्वका दिनहरु भनी तोकिएको छ।हिन्दु पञ्चाङ्ग अनुसार मातातीर्थ औंशी प्रत्येक बर्षको बैशाखमास क्रिष्णपक्षको आमावश्य(पन्ध्रौं तीथि) का दिन पर्दछ।बि,सं,२०७९ साल(ई,सं,२०२२)को निम्ति यो पर्व बैशाख १७ गते(अप्रिल ३० तारीख) का दिन पर्न गएको जनायिएको छ।यस दिन प्रत्येक हिन्दु नर-नारीहरुले बिहान सबेरै उठेर नजीकको नदी,सागर, कुण्ड या जलाशयमा गै स्नानादिबाट निब्रित्त भएर आफ्नी आमा जीवित हुनेहरुले आमालाई घर-पटाहामा बिशेष तवरले राखेर पूजा गर्ने,गलामा माला,उपहार स्वरुप बस्त्रादि पहिराउने,द्रब्य दिएर प्रणाम गरी उनीहरुबाट आशीष थाप्ने,आमालाई बिभिन्न थरीका खाने कुरा खुवाएर प्रसन्न पार्ने, गर्दछन । नेपालका हरेक समुदायका घर-घरमा आ-आफ्ना आमाहरुको मुख हेर्न भनी साथमा बिभिन्न परिकारका खानेकुराहरु र उपहारहरु झोलामा बोकेर आऊने चेलीबेटीहरुको यस औंशीका दिनमा ज्यादै घुईंचो लाग्छ। आ-आफ्ना घरको जे-जस्तो ब्यस्तताको बाब्जुद् पनि यस दिन नेपाली चेलीबेटीहरु आ-आफ्नो माईतमा नगै छाड्दैनन। नेपाली समाजमा यो चलन केही बर्ष यतादेखि अत्यधिक मात्रामा चल्दै आएको छ। आमाहरुले आ-आफ्ना सन्ततीहरुबाट माया-ममता र खुशी साटासाट गर्न पाउने एक मात्र दिन यहि रहेछ भन्ने किसिमले यस औंशीलाई बुझ्दै आऊने गरेको पाईन्छ। आमा नहुनेहरुले आमाको फोटोमा पूजा-आजा सहित माल्यार्पण गरेर अनुग्रह ब्यक्त गर्ने गर्दछन।

 

माता-पिता दुबै नहुनेहरुले यस दिन स्नानादि गरेर एक छाक सात्विक भोजन गरी उनीहरुको संझनामा मठ- मन्दिर,देवालय,कुनै सामाजिक तथा परोपकारी संस्थाहरुमा गएर दान,आर्थिक सहयोग गर्ने गर्दछन्।मातातीर्थ औंशीका दिन भोका-नाङ्गा,दु:खी-गरीब,असहाय-अनाथ,ब्रिद्ध-ब्रिद्धा,बिभिन्न मठ-मन्दिरहरु,सामाजिक तथा परोपकारि संस्थाहरु,आदिलाई दिएको नगद तथा जिन्सीको पूण्य फलको प्रभाब दिबंगत आत्माहरुले प्राप्त गर्दछन् भन्ने कुरा शास्त्रमा बर्णित भएको पाईन्छ।यस दिन बिहानै उठी स्नानादिबाट निब्रित्त भै स्वच्छ भावले दिबंगत मात-पिता प्रति दुबै हात जोडी शरणागत मात्र भैयो भनेपनि उनीहरु प्रति जान-अञ्जानमा गरिएका दुष्कर्महरु समेत मेटिन सक्छन भन्ने शास्त्रीय मान्यता छ।पश्चिमी देशहरुमा पनि प्रत्येक बर्ष फादर्स दे र मदर्स दे भनी आफ्ना माता-पिता प्रतिको श्रद्धा-सम्मान र सम्झना गर्ने बिशेष पर्वका दिन भनेर ती दिनमा राज्यको तर्फबाट सार्वजनिक बिदा हुने गर्दछ। त्रेतायुगमा रामचन्द्र भगवानले सुनैसुनले बनेको स्वर्णपुरी लङ्कामाथि बीजय प्राप्त गरेपछि पनि आफु त्यहांको अधिपति भएर बस्न चाहेनन र बीभिषणलाई लङ्काको राजा बनाई आफु आफ्नी जननी(माता) र जन्मभूमि(आफु जन्मेको ठाऊं) बिर्सन नसकेर अयोद्ध्या आएका थिए भन्ने श्रीवाल्मिकीय रामायणबाट अवगत हुन आऊंछ।

 

जननि जन्मभूमिष्च स्वर्गादपि गरियसि(आमा र आफु जन्मेको ठाऊं स्वर्ग भन्दापनि प्यारो हुन्छ)-यो देववाणिरुपी बाक्यपनि मर्यादापुरुषोत्तम रामचन्द्र भगवानले त्यतिबेलै भनेका थिए भन्ने शास्त्रीय कथन छ। एक आमा आमा मात्र नभै उनी साक्ष्यात देवी-भगवती हुन,प्राण-प्राणेश्वरी हुन,गौरवगाथाकि प्रतीक हुन,आदि-अन्त्य हुन,जसको ब्यक्तित्व यस धरतीमा अद्वितीय हुन्छ,अतुलनीय हुन्छ,अवर्णनीय हुन्छ,अविष्मरणीय हुन्छ। एक आमाको वास्तबिक चरित्र-चित्रणको बखान जति गर्न खोजेपनि थोरैनी हुन्छ, अत: आफ्नो जीवनको सारा भोक-तिर्खा,ऐश-आनन्द,मोज-मस्ती,सुख-सयल जति सबैआफ्ना सन्तती प्रति समर्पण गर्न सक्ने आमा जस्तो ब्यक्तित्वप्रति हामी सबै सधैं अनवरत सेवामा जुटीरहन सकौं,हामीहरु मध्ये जो-जसका माता-पिता जीवित अवस्थामा हुनुहुन्छ वहांहरुलाई ब्रिद्ध-ब्रिद्धाश्रममा लगेर सुम्पने काम हामी कसैले नगरौं,माता-पितालाई अपहेलना गर्ने कुचेष्टा कहिल्यै नगरौं,पित्रि ऋणप्रति सदा-सर्बदा संबेदनशील रही म्रित्युपश्चातको आफ्नो मोक्षमार्ग फराकिलो पार्न सक्षम बन्न सकौं,बिश्वभरी फैलंदै गएको पूर्वीय दर्शनलाई आत्मसाथ गर्नबाट कहिल्यै बिमूख नहोउं, सबै बन्धु-वान्धबहरुमा मेरो यहि सादुभाव,अस्तु!