२०८१ जेठ ७ , सोमवार

लागु औषध प्रयोेगकर्तालाई घृणा होइन सद्भावको खाँचो

नारायण क्षेत्री/ पोखरा । लागु औषध प्रयोगकर्ताहरुको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था रिकभरिङ्ग नेपालले लागु औषध न्युनिकरणका विषयमा अन्तक्र्रिया गरेको छ ।

 

मंगलबार पोखरामा भएको अन्तक्र्रियामा सहजीकरण गर्दै कम्युनिटी सपोर्ट ग्रुपका सन्तोष गुरुङले लागु औषध प्रयोगकर्ताहरु प्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक हुनुपर्ने बताए । उनले लागु औषध प्रयोगकर्ता कुनै अपराधी नभई प्रयोगकर्तामात्र भएको उल्लेख गरे । लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरीबाट ज्यादती हुने गरेको उनले सुनाए ।

 

उनले कारोवारी र सेवनकर्तालाई एकै प्रकारको दण्ड भएकाले यसलाई शंसोधन गर्नुपर्ने माग गरे । लागुऔषध प्रयोगकर्ताहरुको जिविकोपार्जनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । कास्कीमा एउटामात्र सुधार केन्द्र रहेको र त्योपनि प्रभावकारी नभएको उनले गुनासो गरे । २०३३ सालमा बनेको कानुन अहिले सम्मपनि परिमार्जन नभएको उनको भनाई थियो । उनले महिला र पुरुष लागुऔषध प्रयोगकर्तामा समेत घरभित्रबाट नै विभेद हुने गरेको सुनाए । छोरा लागुऔषधमा फस्दा पारिवारिक सहयोग भएपनि छोरी लागुऔषधमा फस्दा भने वेवास्ता हुने गरेको उनले बताए ।

 

राष्ट्रिय एचआइभी संक्रमित महासंघका केन्द्रीय सदस्य मनोजकुमार गुरुङले समाज र परिवारबाट सहयोग भएमा लागुऔषध प्रयोगकर्ताहरुलाई सुधार्न सकिने बताए । उनले आफू विगत २० बर्षदेखि एचआइभी संक्रमित भएपनि आफूजस्ता संक्रमितहरुको हकहितका लागि काम गर्दै आइरहेको उल्लेख गरे । उनले परिवारिक बेमेल, घरपरिवार तथा आफन्तको माया ममताबाट बञ्चित भएपछि व्यक्तिहरु कुलतमा फस्ने गरेको बताउँदै स्नेह र सद्भावको खाँचो औंल्याए ।

 

नौली बिहानी पोखराकी रजनी थकाली (फुप) ले माया र सद्भाव विना स्वस्थ समाजको परिकल्पना गर्न नसकिने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको समस्याका बारेमा राज्यबाट कुनैपनि सुनुवाइ नभएको भन्दै उनले नीति निर्माण गर्दा उनिहरुको पनि सहभागिता हुनुपर्नेमा जोड दिइन् । गोरेटो नेपालकी अध्यक्ष बिमला गुरुङले समाजमा विभिन्न विभेदका कारण अल्कोहल सेवन गर्ने महिलाहरु बढ्दै जाँदा चुनौती थपिएको सुनाइन् । उनले आफ्नो रोजीरोटीका लागि मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरुलाई कामबाट फर्कंदा समेत प्रशासनले दुख दिने गरेको गुनासो गरिन् ।

 

संस्थाले लागुऔषध दुव्र्यसनी सम्बन्धि विभिन्न सचेतना गोष्ठीहरु समेत सञ्चालन गर्दै आइरहेको संयोजक विकाश क्षेत्रीले बताए ।