२०८१ जेठ ७ , सोमवार

गभर्नरको मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाइ हुने

सुनाखरी न्युज/ काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ । अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

 

गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दैै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा आजका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

 

मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गर्भनर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बन गरेका थिए । रासस