२०८० चैत्र १६ , शुक्रवार

मस्र्याङ्दी करिडोरका चार वटा २२० केभीका सबस्टेसन निर्माण धमाधम

सुनाखरी न्युज/ काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ ।

 

नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको हो । खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०÷१३२ केभी, ३२० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा १३२÷३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनहरुका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरुको जडान भइरहेको छ ।

 

खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०÷१३२ केभी,१६० एमभिए तथा १३२÷३३ केभी, ५० एमभिए र २२०÷१३२ केभी, १०० एमभिए तथा १३२÷३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरु निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

 

उहाँले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरुलाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उहाँले उल्लेख गनुभयो । लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरुको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत खुदी सबस्टेसनमा जोडिने छ । मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।