२०८० चैत्र १५ , बिहिवार

महर्जनद्वारा निर्देशित डकुमेन्ट्री ‘महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ जर्मनीमा अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिवलमा छनोट

सुनाखरी न्युज/ काठमाडौं। महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ (Nepal’s Menstrual Movement : Tackling Taboos) जर्मनीमा १–३ जुलाई, २०२२ मा हुने १८ औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।

 

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्र्तराष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गर्नुभएको हो भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गर्नु भएको हो । सन् २०१० मा भिडियो एडिटर÷एनिमेटरका रुपमा आफ्नो करियर सुरु गर्नु भएका उहाँले एक सय भन्दा बढी टेलिभिजन कमर्सियल, डकुमन्ट्री र पीएसएको निर्देशन गरिसक्नु भएको छ । यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्य (Menstrual Helath) को सद्भावना दूत हुनुहुन्छ ।

 

यो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ । पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीमा वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरु कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।

 

विद्यालय पाठ्याक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तन मध्येको एक परिपर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ । सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भन्दै थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु हुने गरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।

 

यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेशनल वुमन्स फिल्म फेस्टिवल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिवल, २०२२ मा पनि छनोट भएको छ ।