२०८१ बैशाख १३ , बिहिवार

सम्बर्द्धनवाद भन्दै सम्माेहन अस्त्र चलाउने ?

गाेपी ढकाल – समृद्धिको सार हाे सम्बर्द्धनवाद तर पद पनि चाहिने , पैसा पनि चाहिने , कुर्सी बिना कतै अड्नै नसक्ने अनि धर्मलाई देखाएर सेलिव्रेटी बन्न खाेज्ने ….. कस्ताे परिभाषाकाे हाे त्याे सम्वर्द्धन वाद ? सम्माेहन अस्त्र भित्रकाे त्याे वाणमा मानसिक पीडारूपी प्वाँख लागेकाे छ , रमण र सिंहदरबार गमनका लागि वाणकाे टुंडाे बनाइएकाे छ र जसमा सत्ताभाेग विषयक संकल्परूपी दण्ड जडिएकाे त्यस्ताे सम्माेहन अस्त्र ( तीर ) लाई सम्बर्द्धन वाद नामकाे धनुषमा चढाएर प्रक्षेपण गरेपनि त्यसले कामरूपी देव र विलासिता रूपी देवी बाहेक अरू कसैलाई पनि भेदन गर्न सक्तैन । सम्माेहन अस्त्र ( तीर ) भनेकाे सबैलाई रणभुल्लमा पार्ने माेहनी अस्त्र हाे ।

 

के हाे सम्बर्द्धनवाद ?

सम्वर्द्धन वाद लाई कसले र किन बीजाराेपण गर्‍यो , अङ्कुरित गर्ने काम कसले गर्‍यो अनि त्यसलाई मलजल गर्दै पुष्पित र पल्लवित कसले गरायाे ? पहिले नै लेखिसकेकाे विषय लाई दाेहाेर्‍याएर फेरि लेख्दैछु । सम्वर्द्धन वादकाे बीजारोपण गर्ने काम फ्रेन्च विद्वान Francois Rene De Chateaubriand बाट भयाे । त्यसैगरी Edmund Burke बाट गाेडमेल सहित अङ्कुरित गर्नेकाम भयाे भने त्यसलाई मलजल सहित पुष्पित र पल्लवित अथार्थ फुलाउने र फलाउने काम भने डिजरायली सहितका अन्य विद्वान हरूले गरेका थिए । त्यसरी बीजारोपण भएकाे सम्वर्द्धन वाद असल राज्य व्यवस्था सञ्चालनका लागि मार्गदर्शक सिद्धान्त बन्दै आज आएर कल्पवृक्ष झैं विश्व जगतमा झांगिन पुगेकाे छ ।

 

सन १८१८ मा भएकाे फ्रान्सेली राज्यक्रान्ति पछि त्यहाँ भयावह सवस्था सिर्जना भयाे । गृहयुद्ध , रक्तपात , विनाश र संत्रासले त्यहाँकाे शान्ति , प्रगति र स्थिरताकाे अन्त्य गर्‍यो । त्यस्ताे अराजकता बाट आजित भएर त्यहाँका एकजना विद्वान Francois Rene De Chateaubriand ले परम्परा , धर्म र संस्कृति लाई निरन्तरता दिदै अघि बढ्न सकेमा मात्र वर्तमानकाे पीडादायी दुर्दिन बाट उन्मुक्ति मिल्न सक्छ भन्दै असल राजनीतिक व्यवस्थाका लागि सम्वर्द्धन वादकाे खाका तयार गरेका थिए । त्यसरी Chateaubriand बाट बीजारोपण भएकाे सम्वर्द्धन वाद लाई अझ बिस्तृत रूपमा परिभाषा सहित परिमार्जन गर्ने काम भने Edmund Burke गरेका थिए । Burke काे परिभाषा अनुसार सम्वर्द्धन वादले अनुशरण गर्ने विषय हरूमा ( १ ) राष्ट्रियता ( २ ) सनातन धर्म ( ३ ) राजसंस्था ( ४ ) सम्पत्ति माथिकाे पूर्ण अधिकार र ( ५ ) लाेक सम्मतिमा आधारित संसदीय शासन व्यवस्था लाई शासन पद्धतिको बटमलाइन बनाउनु पर्नेमा उनले जाेड दिएका थिए ।

 

Edmund Burke द्वारा त्यसरी परिभाषित गरिएकाे सम्वर्द्धन वाद लाई आधुनिक सम्वर्द्धन वादका रूपमा संस्थागत गर्दै कार्यान्वयनमा ल्याउन भने डिजरायली लगायत अन्य विद्वान हरूकाे महत्त्वपूर्ण भूमिका रह्याे । जसलाई बेलायतको कन्जरभेटिभ पार्टीले आफ्नाे वैचारिक मार्गदर्शक सिद्धान्तका रूपमा अनुशरण गर्‍यो भने सम्वर्द्धनवाद लाई राजनीतिक व्यवस्था र शासन सञ्चालनकाे आधारस्तम्भ बनाउदै अघि बढ्ने क्रममा युराेपियन देश हरूले त्यसैकाे जगमा उभिएर विकास र समृद्धि चुम्न सफल भएका हुन । निरन्तरता सहितकाे परिवर्तन भनेकाे नै सम्वर्द्धन वाद हाे तर जसले परिवर्तन लाई स्वीकार गर्न सक्तैन , रूपान्तरण लाई पचाउन सक्तैन , गतिशीलताकाे नाम मात्र पनि सुन्न सक्तैन र जन उभारलाई स्वाभाविक रूपमा लिन तयार हुदैन भने त्यस्ता गतिहीन हरूले परिभाषा गर्ने भनेकाे कस्ताे चरित्रकाे हाेला त्याे सम्वर्द्धन वाद ?

 

राप्रपाले आत्मसात गरेकाे सम्बर्द्धन वाद भनेकाे विचार , मुद्दा र एजेन्डाकाे माैलिक परिचय भएकाले त्याे जनताकाे जीवन पद्धती संग जाेडिएको हुन्छ किन्तु त्यस्ताे मूलभूत मान्यतालाई पेशा र कमाउकाे ब्यबसाय बुझ्दै सत्ता र कुर्सीका लागि च्यांखे दाउ बनाएपछि जनता मात्र हाेइन ….. अाफ्नै सहयात्री हरूका नजरमा समेत लज्जावतीकाे झार झैं खुम्चिनु पर्छ नै । सम्बर्द्धन वादकाे पक्षधर भएकै कारण नयाँ पुस्ताकाे उदय संगै राप्रपा अब …. विचार र सिर्जनाकाे पुष्पवाटिका बनेकाे छ । गतिहीनताका कारण शुष्क र बाझाे बनेकाे पार्टीमा गतिशीलताकाे उदय पछि विचारकाे सिर्जन भूमि बनेकाे छ । समस्त ॐकार परिवार हरूकाे काेष र समस्त यज्ञयवादी ( आस्तिक ) हरूकाे घर बनेकाे छ ।

नयाँ पुस्ताका नेतृत्व लाई सहयोग गर्नु नै सच्चिनका लागि इतिहासले दिएकाे अन्तिम माैका थियाे तर सच्चिनुकाे सट्टा भाच्चिएर पलायन हुँदै गणतन्त्रको सनै बजाउदै धर्मलाई अफिम भन्ने कम्युनिस्टको चुनाव चिन्ह झाेलामा बाेकेर हिड्नासाथ सम्बर्द्धनवादकाे रङ्ग खुइलिएर गयाे । त्यसर्थ सम्बर्द्धनवाद भन्दै सत्ता रसास्वादनका लागि सम्माेहन अस्त्र ( तीर ) चलाउनु त्याे सर्वथा निरर्थक हुनेछ । त्यसैले नेपाली समाजकाे जरा , सामाजिक बनाैट र चरित्र लाई गहिराई बाट बुझेर इतिहासकाे गर्भबाट वर्तमान जन्मिएकाले वर्तमानको गर्भबाट भविष्य जन्माउन गर्भधारण गरेकाे वर्तमान भनेकाे नै नयाँ नेतृत्व हाे । भूत नयाँ पुस्ताकाे हातमा थिएन तर वर्तमान हातमा लिएर एउटा गति सहितले अघि बढेकाे नयाँ नेतृत्व लाई चक्रव्यूहमा पार्ने अनि आफ्नाे अभिष्ट चाहना पूरा गर्ने कसैले साेचेकाे छ भने त्याे दिवास्वप्ना मात्र हाे । अत: जुन कुरा कार्यकर्ताले अस्वीकार गरिसके , नेपाली समाजले धिक्कार गरिसके अनि मिडिया जगतले हांसाेमा उडाई सकेपछि पनि सम्बर्द्धनवाद भन्दै गतिहीनता लाई जाेगाउन खाेज्नु भनेकाे समयकाे बर्बादी बाहेक अन्यथा हुनै सक्तैन ।

 

अत: धर्मलाई देखाएर राजनीति गर्ने मान्छे जब निरीश्वरवादी ( नास्तिक ) कम्युनिस्टको झाेला बाेकेर हिड्छ भने कहाँनेर रह्यो उसकाे सम्बर्द्धनवाद ? त्यसैले डाेरी डढेर खरानी भयाे तर बटारिएकाे डाेरीकाे डाेब देखाएर सम्बर्द्धन वाद ….. भन्दै कराउदा त्याे कुरालाई समाज विज्ञानले मात्र हाेइन प्रकृति विज्ञानले समेत स्वीकार्न सक्तैन ।

( लेखक राप्रपाका केन्द्रीय सचिवालय सदस्य भएपनि व्यक्त लेख भने उहाँका निजी विचार हुन )