२०८१ बैशाख ६ , बिहिवार

एक कक्षामा पढ्नेले चार घण्टा हिँड्नुपर्ने बाध्यता

सुनाखरी न्युज/ म्याग्दी –

म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहोरदोहोर गर्न बाध्य छन् ।

 

झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् । सडक सञ्जालले नछोएको ठाटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बाल विकास केन्द्र पढ्न जाने गरेका छन् ।

 

उनीहरु जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताए । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उनले बताए । कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । ‘विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्’, पुर्जाले भने ।

 

उनले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताए । “दैनिक चार घण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ”, अभिभावक इन्द्रा पुनले भनिन् । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । “बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ”, उनले भनिन् ।

 

मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लीलाबहादुर पुनले बताए । “मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौँ”, उनले भने । रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताए । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उनी बताउँछन् । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताए । रासस