२०८१ बैशाख ६ , बिहिवार

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

सुनाखरी न्युज/ काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ। एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो।

 

यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्ट आईपीएसका माध्यमबाट आफ्नै बैंक तथा वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ। नेपाल सरकारले लागू गरेको उक्त बीमा योजनाअन्तर्गत प्रत्येक बीमित नेपाली परिवारले रु. १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएका छन्। यसअन्तर्गत हाल सम्म ५३ लाखभन्दा बढी लाभग्राही छन्। ती बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको हो।

 

स्वास्थ्य बीमा बोर्डको डिजिटलाइजेसनको यस कदमलाई बोर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने एक महत्वपूर्ण कोषे ढुंगाका रुपमा लिइएको छ। बीमितहरुले बीमा नवीकरण भुक्तानीका लागि कनेक्ट आईपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘गभर्मेन्ट अफ नेपाल’ अन्तर्गत ‘हेल्थ इन्स्योरेन्स बोर्ड’ छनोट गर्नुपर्ने हुन्छ। त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमूलीको बीमा संख्या राखी ‘मेक पेमेन्ट’ मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमूलीको नामसहित जम्मा सदस्य संख्या यकिन गरी भुक्तानीको विवरण रुजु गरेपश्चात आफ्नो ट्रान्ज्याक्सन पासवर्ड/ओटीपी प्रयोग गरी बैंक तथा वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ।

हाल यस कनेक्ट आईपीएस प्रणालीमार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजापतपत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकारलगायतका विभिन्न निकायहरुको कारोबारहरु हुँदै आएका छन्।