२०८१ बैशाख ११ , मंगलबार

बिस्का जात्राको अवसरमा सद्‌भाव र्‍याली

सुनाखरी न्युज/ काठमाडौं –

ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो ।

 

र्‍यालीमा नगरपालिकाका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो । र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहजरुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘विश्वमै बिस्का जात्राको विशेष महत्व भएकाले हेर्न आउने सबैलाई सभ्य, भव्य र सुरक्षितरुपले जात्रा सम्पन्न गर्न आग्रह गर्दछु’, उनले भने ।

 

नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै जात्रा अवधिभर उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको सहयोग रहने अपेक्षा गरिन् । बिस्का जात्रा आइतबारदेखि सुरु हुँदैछ ।

 

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, वि.सं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । रासस