२०८१ जेठ २ , बुधवार

बिहारमा ६० फिट लामो फलामे पुल चोरी, पुल काट्न लिएर आएका थिए ग्यास कटरदेखि जेसिबीसम्म

सुनाखरी न्युज/ काठमाडौं –

बिहारमा ६० फिट लामो फलामको पुल चोरी भएको छ। रोहतास जिल्लाको विक्रमगञ्ज उपखण्ड क्षेत्रमा रहेको ६० फिट लामो पुल शुक्रबार चोरी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

 

 

प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आएका थिए। उनीहरूले पूरै पुल काट्न तीन दिन लगाएको र काटेपछि उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो चोरहरूले सिँचाइ विभागको अधिकृत भनेर स्थानीय सरकारी कर्मचारीको सहयोगमा पुल चोरी गरेका हुन्। भारतीय सञ्चार माध्यम एएनआईका अनुसार चोरहरू अधिकृत भन्दै पुल मर्मत गर्न भनेर गएका रहेछन्।

 

 

सोही क्रममा उनीहरूले उपकरणको सहायताले पूर्ण रूपमा पुल उखलेको राज्य सिँचाइ विभागका जुनियर इन्जिनियर अरशद कमल शम्शीले बताए। सिँचाइ विभागका अधिकारीहरूले नसरीगञ्ज पुलिस स्टेसनमा रिपोर्ट दर्ता गरेका छन्। ६० फिट लम्बाइ र १२ फिट उचाइ रहेको पुल एक्कासि हराएपछि त्यस क्षेत्रका मानिसहरू स्तब्ध भएका छन्। यो पुल अमियावर गाउँको आरा नहरमाथि सन् १९७२ मा बनेको थियो। एजेन्सी