२०८१ बैशाख ७ , शुक्रवार

चैते दसैं मेलाको मौलिकता हराउँदै

सुनाखरी न्युज/ गलकोट –

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्।

 

बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ। कोरोना भाइरस संक्रमणले दुई वर्ष चैते दसैं मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाका सामग्री बिक्री गर्न आएका विकले चैते दसैंको मौलिकता वर्षभरि उत्पादन गरेको निगालोको चोयाको डाली, नाङ्ला र डालो चैते दसैं मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएका विकले अब चोयाको उत्पादनबाट जीवन धान्न नसक्ने बताए।

 

 

‘बाबाले चोयाबाट डाला, नाङ्ला, डोको, थुन्से लगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै आफूले चोयाको सामग्री बनाउन सिकेको थिए, पहिला राम्रो व्यापार थियो, चैते दसैंमा जलजलाबाट बोकेर बिक्रीका लागि यहाँ ल्याउँथे, अहिले सवारीले सहज त बनाएको छ, तर पहिला जस्तो अहिले चैते दसैंको रौनक छैन, घरेलु उत्पादन त अबदेखि बिक्री हुन नै छाडेँ’, शशिराम विकले भने, ‘अहिले त प्लाष्टिकका भाँडाकुँडा, खेलौना र खानपिनमा मेला समिति भएको छ, बागलुङ झरेको दुई दिनमा दुइटा मात्रै डालो बिक्री गरे, खास चैते दसैं भनेको दैनिक प्रयोगमा आउने ठेका, डाला, नाङ्ला, बाउँसो, आँसी लगायतका वस्तुहरूको खरिद बिक्री भन्ने बुझिन्थ्यो अहिले त्यस्तो छैन।’

 

 

उनका तीन छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन्। त्यसैले आगामी पुस्ताले यो पेसा नअँगाल्दा झनै समस्या हुने उनको भनाइ छ।उनले रु ५०० मा पाँच पाथीको ठालो बिक्रीका लागि चैते दसैं मेलामा आएका हुन्। चैते दसैंमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरू बताउँछन्। चैते दसैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामग्री वर्षभरिलाई खरिद गर्ने चलन भए पनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाचगानमा मेला सीमित हुन थालेको चैते दसैं मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउँदै गरेका बागलुङको बलेवा अमलाचौरका प्रेमबहादुर चुदाराले बताए।

 

‘चार पाँच वर्षअघि सम्म त ठेकाठेकीको व्यापार निकै राम्रो थियो, सबै ठेकाठेकी व्यापार गरेर सक्थें’, उनले भने, ‘तर अहिले त्यो समयको चैते दसैं र यो समयको चैते दसैंमा आकाश पातालको भर भइसक्यो, अहिले आयातीत सामग्री खरिदमा स्थानीयबासीको भीड लाग्छ, आधुनिक उपकरणको विकासले ठेकाको व्यापार नहुने देखियो, पछिल्ला वर्षमा परम्परा धान्न मात्रै ठेका ल्याएर आएको हुँ।’ चुदाराले गुम्मीमा गएर ठेका उत्पादन गर्दै आएका छन्। उनले ठेकाठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने बताए। यस्तै, चैते दसैंमा अहिले घरेलु हातहतियार, खुकुरी, बाउसो, आँसी लगायतका वस्तुहरू बिक्रीका लागि ल्याइएको समेत छैन।

 

चैते दसैं मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको स्थानीयवासी दुर्गा आचार्यले बताइन्। मेलामा झाँकी, घरेलु उत्पादन, ढाका टोपी, अल्लोको कपडा, ढाकाको कपडा, मादल, बुट्टेनली लगायतका उत्पादनहरूदेखि नै छोडेका छन्। मेलामा आयातीत लत्ताकपडा, मनोरञ्जनका सामग्री तथा आधुनिक खानाका परिकारले महत्व पाउन थालेकाले बिस्तारै चैते दसैंको मौलिकता हराउँदै गएकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। रासस