२०८१ जेठ १ , मंगलबार

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता

सुनाखरी न्युज/ पोखरा-

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरू भएको छ।

 

पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक सहरको रूपमा चिनाउन थप सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

 

उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृंखला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताए।

 

उनले कोभिड-१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवर्द्धधनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए। प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरूष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए।

 

उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन्। त्यसमा आठ महिला पाइलट रहेका छन्। प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक भेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ।  रासस