२०८१ बैशाख ३१ , सोमवार

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

सुनाखरी न्युज/ काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बाको स्थापना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र २३ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारीहरुमा परिचालित हुनेछ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम देखि करीव १ सय १४ किलोमिटरको दुरिमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बिओपीले आजैबाट कार्य संचालन गरेको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु स्थापना गर्दै लगिएको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले हिमालको कठ्यांग्रीने जाडोदेखि तराईको प्रचण्ड गर्मी रहेका कठिन भौगोलिक ईलाकाहरुमा खटिई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, उद्वार, राहत वितरण लगायतका राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा देखाएको ईमान्दारिता, कर्तव्यपरायणता र समर्पण भावको त्यसैअवसरमा प्रशंसा गर्नुभयो । सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर भट्टराईको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपालको टोली त्यस ठाउँमा खटिएको छ ।

 

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढिमाई बाहिनी मख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. किशोर प्रधान, सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी लगायत जुगल गाउँपालिकाका अध्यक्ष तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।