२०८० चैत्र १५ , बिहिवार

भ्रामक समाचार पोष्ट गरेको भन्दै भारत सरकारले लगायो २२ युट्युब च्यानलमाथि रोक

सुनाखरी न्युज/ काठमाडौं –

भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ।

 

भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी नियमअन्तर्गत १८ वटा भारतीय युट्युब समाचार च्यानल र ४ वटा पाकिस्तानस्थित युट्युब च्यानलाई ब्लक गरेको हो। मन्त्रालयका अनुसार ब्लक गरिएका युट्युब च्यानलहरूले टिभी समाचार च्यानलहरूको लोगो प्रयोग गरेर गलत थम्ब्नेल राखेर दर्शकहरूलाई भ्रामक सन्देश दिइरहेको थियो। मन्त्रालयले २२ युट्युब च्यानलसँगै तीन वटा ट्विटर अकाउन्ट, एउटा फेसबुक अकाउन्ट र एउटा समाचार वेबसाइट समेत ब्लक गरेको छ।

 

‘सूचना तथा प्रसारण मन्त्रालयले आइटी नियम २०२१ अन्तर्गतको आपतकालीन शक्तिको प्रयोग गर्दै सन् २०२२ अप्रिल ४ तारिखमा २२ वटा युट्युब च्यानल, तीन ट्विटर खाताहरू, एउटा फेसबुक अकाउन्ट र एउटा समाचार वेबसाइटलाई ब्लक गरिएको हो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘ब्लक गरिएको युट्युब च्यानलहरूमा २६० करोडभन्दा बढी दर्शकहरू छन्। ती च्यानलहरूले राष्ट्रिय सुरक्षा, भारतको विदेश सम्बन्ध, सार्वजनिक व्यवस्थाको विषयहरू र संवेदनशील विषयहरूमा भ्रामक र झुटा सूचना प्रसारण गरिरहेका थिए।’मन्त्रालयका अनुसार प्रायः युट्युब च्यानलहरू भारतीय सशस्त्र बल र जम्मु-कश्मिरको सम्बन्ध जस्ता विभिन्न विषयहरूमा गलत समाचारहरू प्रसारण गर्न प्रयोग गरिएको थियो।

 

साथै, ती च्यानलहरूमा ‘भारत विरोधी’ सामग्रीहरू पनि पाइयो। ‘भारतमा आधारित केही युट्युब च्यानलहरूले हाल युक्रेनो अवस्थाबारे पनि झुटा समाचार प्रसारण गरेको पाइएको छ। ती समाचारहरूको मुख्य उदेश्य भारतको विदेश सम्बन्धलाई बिगार्न खोज्नु देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ। सन् २०२१ को डिसेम्बरदेखि भारतीय सूचना तथा प्रसारण मन्त्रालयले ७८ युट्युब च्यानल र थुप्रै सामाजिक सञ्जालका खाताहरू ब्लक गरिसकेको छ। एजेन्सी