२०८० चैत्र १५ , बिहिवार

‘शिरीषको फूल’ पोखरामा मञ्चन हुदै, तयारी पुरा

राजाराम पौडेल

नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पुरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ ।

 

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार पार्नु भएको हो । यो नाटक सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ ।

 

थिएटर मलका संस्थापक तथा कला निर्देशक रहनुभएका परिकल्पनाकार केदार श्रेष्ठ शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको बताउनुहुन्छ । पोखरामा व्यक्तिगत रुपमा मेरो तेस्रो नाटक हो । धेरै समयदेखि नाट्य गतिविधि नभइरहेको बेला २०७३ मा नाटक मान भर्सेस मती लिएर पोखरा आइपुगेको थिए । त्यसपछि निर्देशकहरुको कार्यशालाबाट तयार नाटक खबर हराएका चिठ्ठी मार्फत यहीं पोखरा थिएटरको मञ्चमा सक्षात्कार गर्ने मौका पाएको थिए । फेरि शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु भएको छ । उहाँले भन्नुभयो ।

 

पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा नाटक मञ्चन गर्न पाउदा खुशी लागेको सुनाउनुभयो । पोखरा थिएटरले स्थापनाकालदेखि नै विभिन्न रंग समूह सगँको सहकार्यलाई महत्व दिदै आएको छ । थिएटर मलसँग संस्थागत रुपमा यो पहिलो सहकार्य भएपनि विभिन्न रुपमा विगतका बर्षदेखि नै सहकार्य हुदै आइरहेको छ । उहाँले भन्नुभयो । नाटक मञ्चनको लागि पोखरा आएको थिएटर मलको टिमले पोखराका नाट्यप्रेमी दर्शकको साथ पाउने अपेक्षा गरेको छ ।