२०८१ बैशाख २७ , बिहिवार

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छ : अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं –

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

 

 

‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उहाँले भन्नुभयो, ‘महिलाहरुलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि गर्‍यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हाँसिल हुने मेलै देखेको छु ।’ उहाँले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राख्नुभएको थियो । उहाँले महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताउनुभएको थियो ।

 

 

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गनूभयो । उहाँले प्रत्येक प्रदेशमा प्रसुती अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनु पर्ने लगायतका सुझाव दिनुभयो । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २ दर्जन महिला नेतृ, अभियान्ता, संचारकर्मी, उद्यमी लगायतको उपस्थिति थियो ।