२०८० चैत्र १५ , बिहिवार

पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को पाँचौं संस्करण उद्घाटन भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले कोभिडका कारण सबैभन्दा बढी फिल्म क्षेत्र प्रभावित भएको बताए । ‘झण्डै दुई वर्ष कोरोनाको कारण फिल्म व्यवसाय ठप्प भयो । तर अहिले कोरोनासँग जुधेर अगाडि बढ्न सक्छौं भन्ने सन्देश चलचित्र महोत्सबबाट दिनुभएको छ,’ शाक्यले भने । नेपालका लाग युरोपियन युनियन राजदूतनोना डिप्रेजले युरोपियन युनियनले नेपाली चलचित्र उद्योगसँग सहकार्य गरेर काम गरिरहेको बताइन् । ‘नेपालको फिल्मलाई युरोपियन युनियनले सधैं माया गरेको छ । हामीले विभिन्न फेस्टिभलहरुमा सहकार्य गर्दै आएका छौं । यस्तो फेस्टिभल अझै भइरहनुपर्छ,’ उनले भनिन् । जुरी प्रमुख सुदिप्तो आचार्यले कोरोना महामारीबाट जोगिएर यो अवस्थामा चलचित्र महोत्सब गर्नु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अवस्थामा पनि चलचित्र महोत्सव गर्नु ठूलो कुरा हो । त्यसैले हामीले चलचित्रलाई माया गरौं ।’

 

चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको बताए । चलचित्रकर्मीहरुलाई मञ्चभन्दा फिल्डमा उत्रेर राम्रा चलचित्र बनाउन उनले सुझाव दिए । ‘चलचित्रकर्मीहरु मञ्चमा आवाज उठाउँछौं । तर फिल्डमा कमजोर छौं । तपाईंहरु उत्कृष्ट कथा ल्याउनुहोस् । राज्यले लगानी गर्नेछ,’ उनले भने । दाहालले यो वर्ष पाँच वटा चलचित्रका लागि राज्यले लगानी गर्ने बताए । उनका अनुसार यो वर्ष तीन ओटा सर्ट फिल्म र दुई ओटा फिचर्ड फिल्म निर्माणको लागि राज्यले लगानी गर्नेछ । बोर्डसँग सहकार्य गरेर विभिन्न सुविधा तथा नीतिगत सहयोग चलचित्रकर्मीले लिन सकिने बताए । निफबाट नेपालले पनि नयाँ कुरा सिक्न सक्ने दाहालको भनाइ थियो । ‘निफमा हामीले हरेक पटक सहयोग गर्दै आइरहेका छौं । यसपटक पनि सहयोग गरेका छौं । विश्वका विभिन्न सिनेमा हेरेर हामीले सिक्नसक्छौं,’ दाहालले भने ।

 

निर्देशक तथा निफका संयोजक यादव कुमार भट्टराईले कार्यक्रममा स्वागत गर्दै निफले नेपालका चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गरेको बताए । तर राज्यले चलचित्र क्षेत्रको विकासका लागि ध्यान नदिएको उनको गुनासो थियो । ‘राज्यको कमजोर नीति र फितलो कार्यान्वयनले चलचित्र उद्योग विघटनकै संघारमा पुग्ने अवस्था सिर्जना भएको छ । यसप्रति धर््यानाकर्षण गराउन चलचित्रकर्मि एक हुनुपर्ने अवस्था आएको छ,’ उनले भने । कार्यक्रमका सभापति एवम् नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भौतिक रुपमा महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमका लागि सहयोग गर्नेलाई धन्यवाद दिँदै फेस्टिभलमा सहयोग गर्न आह्वान समेत गरे ।

 

कार्यक्रममा उद्घाटनको दिन पुरु लम्सालको निर्देशन रहेको ४६ मिनेटको डकुमेन्ट्री ‘गोरु जुधाइ’ प्रस्तुत गरिएको थियो गरिएको थियो । २१ गतेसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको सातवटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । शुक्रबारदेखि कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा हुने जनाइएको छ ।