२०८१ बैशाख २९ , शनिवार

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

सुनाखरी न्युज/ काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

 

नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुन् ।

 

यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित भएका छन् ।

 

निर्वाचनका लागि थापा र बस्नेत समूहबीच प्रतिस्पर्धा भएको थियो । देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।