२०८० चैत्र १५ , बिहिवार

मोजा गनाउने समस्या छ ? यस्ता छन् समाधानका उपाय

सुनाखरी न्युज/ काठमाडौं –

कतिपय मानिसको खुट्टामा पसिना आउने समस्या हुन्छ । जब छालामा भएको व्याक्टेरिया पसिनाको सम्पर्कमा आउँछन् तब गन्ध आउन सुरु हुन्छ । गर्मी मौसममा बढी पसिना आउने हुनाले मोजा, जुत्ता वा खुट्टा गनाउने समस्या ज्यादा हुन्छ । कतिपय मानिसलाई यो समस्याले निकै सताइरहेको हुन्छ । यो समस्याबाट छुटकारा पाउन विभिन्न उपाय अपनाउन सकिन्छ ।

अदुवा वा अमिलो

पानीमा केही थोपा निबुवा वा कागती राखेर खुट्टा धुन सकिन्छ । यसको सट्टामा अदुवाको रस हातमा लिई खुट्टामा लगाउने र केही समयपछि मनतातो पानीले पखाल्ने । हप्तामा तीनपटक यो विधि अपनाएर खुट्टाको दुर्गन्ध हटाउन सकिन्छ ।

 

बेकिङ सोडा

सोडियम कार्बोनेटलाई सामान्य भाषामा बेकिङ सोडा पनि भनिन्छ । खुट्टा र मोजाको दुर्गन्ध हटाउन बेकिङ सोडा सजिलो उपाय बन्न सक्छ । यसले पसिनालाई सामान्य अवस्थामा रहनुका साथै किटाणु नियन्त्रण गर्न यो सहयोगी बन्छ । मनतातो पानीमा बेकिङ सोडा घोल्ने र उक्त घोलमा आधा घण्टाजति खुट्टा डुबाइराख्नाले खुट्टाको गन्ध बिस्तारै हटेर जान्छ ।

फिटकिरी

फिटकिरीमा एन्टिसेप्टिक गुण हुन्छ जसले व्याक्टेरिलाई फैलनबाट रोक्छ । एक चम्चा फिटकिरीको धुलोलाई एक जग पानीमा राख्ने र उक्त पानीले खुट्टा पखाल्ने । केही दिनसम्म यो विधि लगातार अपनाउनाले बिस्तारै खुट्टा गनाउने समस्या कम हुँदै जान्छ ।

खुट्टा सफा राख्ने

खुट्टालाई र जुत्तालाई दुर्गन्धबाट पर राख्न सबैभन्दा पहिले खुट्टा सफा हुनु जरुरी हुन्छ । जुत्ता लगाउनुपूर्व खुट्टा सफा छ कि छैन भन्ने कुरा पनि उत्तिकै महवपूर्ण छ किनकि धुलो टाँसिएको र फोहोर खुट्टा नै सबैभन्दा धेरै गनाउने हुन्छ । एजेन्सी