२०८१ बैशाख १३ , बिहिवार

कांग्रेसमा प्रदेशलाई लेबी पठाइने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय

सुनाखरी न्युज/ काठमाडौं –

मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदेशमा पनि लेबी पठाइने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। नेपाली कांग्रेसका सातै प्रदेश समितिको विधानले व्यवस्था गरे अनुसार लेबी रकम प्रयोग गर्न पाउने भएका छन्।

 

 

प्रदेश सभा सदस्य र मन्त्रीको पारिश्रमिकबाट २० प्रतिशतका दरले उठाइने लेबी अहिलेसम्म केन्द्रीय कार्यसमितिकै खातामा आएकोमा ०७९ वैशाखदेखि प्रदेश कार्य समितिको खातामा जम्मा हुने भएको छ। साथै ०७८ चैत्र मसान्त सम्मको केन्द्रमा पठाउन बाँकी रहेको लेबी रकम भने सम्बन्धित प्रदेश सभा संसदीय दलले चैत्र मसान्त भित्र अनिवार्य केन्द्रमा पठाउनु पर्ने समेत निर्देशन पार्टीले दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

यस्तै कांग्रेस नियमावली ०७६ को नियम ५(४) (२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्कवापत बुझाउनु पर्ने तीन सयमध्ये प्रदेश कार्य समितिलाई ४० र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नविकरण वापत बुझाउनु पर्ने नवीकरण शुल्क दुई सयमध्ये प्रदेश कार्य समितिलाई १० रूपैयाँका दरले रकम प्रदेश समितिलाई पठाइने निर्णय पनि भएको छ।