२०८१ बैशाख ७ , शुक्रवार

परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको आरोपमा त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

सुनाखरी न्युज/ काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

 

उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिबानाको माग दाबी गदै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरेको आरोप रहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्रा। डा। टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

 

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकाल, सह-प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

 

प्रेस विज्ञप्ति

त्रि.वि. सेवा आयोगको कार्यालय, त्रि.वि.बाट मिति २०७३।११।१८ मा प्रकाशित विज्ञापन नं. १८।०७३।०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सेवा आयोगको कार्यालय, त्रि.वि.बाट लिइएको विज्ञापन नं. १८।०७३।०७४ अन्तर्गतका पदहरुको स्थायी पदपूर्तिको लागि लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह-प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह-प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि हुन आएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा निजहरुउपर तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी