२०८१ बैशाख ८ , शनिवार

सार्वजनिक खरिद नियमावलीको त्रुटी सच्याउन निर्माण व्यवसायीको माग

सुनाखरी न्युज/ काठमाडौं । सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा विद्यमान त्रुटि तत्काल सच्याउन नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई दबाव दिएको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय अत्याधिक रूपमा भएको मूल्यवृद्धि समायोजन, खरिद नियमावलीको एघारौं संशोधनमा भएको त्रुटि र म्याद सकिन लागेका आयोजनाको एक वर्षसम्म म्याद थप गर्न सरकारलाई दबाव दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले चैत महिनादेखि म्याद सकिने सम्पूर्ण आयोजनाको म्याद सरकारले कम्तिमा एक वर्ष थप्नुपर्ने बताउनुभयो ।

 

कोभिड महामारीका कारणले समय सकिएका आयोजनाहरूको म्याद चैत महिनासम्म मात्रै रहेको भन्दै अध्यक्ष सिंहले आयोजनाको म्याद नथपिएमा निर्माण कार्य नै अवरुद्ध गर्नेे चेतावनी दिनुभयो । सार्वजनिक खरिद नियमावली छैटौ संशोधन र अघिल्लो सरकारले म्याद थप गरेर कार्यान्वयन गरेको कारण अहिले निर्माण उद्योग समस्यामा परेको उहाँको आरोप छ । अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा गठबन्धन सरकारले गरेका त्रुटिपूर्ण ४÷५ वटा बुँदा तथा बीमा निर्देशिका यथाशिघ्र सच्याउनुपर्ने जिकिर गर्नुभयाे ।

 

त्यस्तै, अध्यक्ष सिंहले पछिल्लो समय अत्याधिक रूपमा निर्माण सामग्री तथा पेट्रोलिय पदार्थको मूल्यवृद्धिको कारणले निर्माण व्यवसायी नै समाप्त हुने अवस्था आएको बताउनुभयो । उहाँले यस्तो अवस्थामा निर्माण व्यवसायीहरूले आफ्नो सम्पत्ति बेचेर निर्माणको काम गर्न नसक्ने स्पष्ट पार्नुभयो । अहिले सतप्रतिशत भन्दा पनि बढी मूल्य वृद्धि भएको भन्दै अध्यक्ष सिंहले यस्तो अवस्थामा निर्माण व्यवसायीहरूले चाहेर पनि निर्माणको काम अगाडि बढाउन नसक्ने बताउनुभयो । प्रतिकिलो ६० रुपैयाँ रहेको डण्डीको मूल्य १३५ रुपैयाँ, प्रतिलिटर ८५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य बढेर ११८ रुपैयाँ र प्रतिलिटर ८५ रुपैयाँ पर्ने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने उहाँको भनाइ छ ।

सरकारले मुल्यवृद्धि समायोजन तथा मूल्यवृद्धि निर्देशिका जारी गर्ने माग सम्बोधन नगरेमा निर्माण गतिविधि अघि बढाउन नसक्ने जिकिर गर्नुभयो । यही चैत्र २४ गतेसम्म अत्यधिक रूपमा भएको मूल्यवृद्धि समायोेजन नगरी दमनको नीति लिए निर्माण व्यवसायी कन्स्ट्रक्सन होलिडे घोषणा गर्ने चेतावनी दिनुभयो । महासंघले निर्माण क्षेत्रलाई लक्षित गरेर ल्याइएको बीमा निर्देशिका खारेज र आयोजनाको भुक्तानीको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ । त्यस्तै आयोजनामा परेका तर बजेट सुनिश्चित नभएका आयोजनाहरूको भुक्तानी सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।