२०८१ बैशाख १३ , बिहिवार

टिकटकमा पहिले हेरेको भिडिओ खोज्न मिल्ने फिचर आउँदै

सुनाखरी न्युज/ काठमाडौं –

टिकटकले प्रयोगकर्ताले हेरिसकेको भिडिओ खोजेर पुनः हेर्न सघाउन नयाँ फिचर परीक्षण गर्दैछ। टेकक्रन्चको रिपोर्टमा आधारित द भर्सका अनुसार टिकटकले ‘वाच हिस्ट्री’ फिचर परीक्षण गरिरहेको हो।

 

 

वाच हिस्ट्री फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफूले केहि समय अघि हेरेको भिडिओ पुनः खोजेर हेर्न पाउनेछन्। अहिले टिकटकमा यस्तो कुनै सुविधा छैन। अघिल्ला दिनहरूमा अथवा सोही दिनमा हेरेको भिडिओ समेत यदि ‘लाइक’ गरेको छैन भने पुनः त्यो भिडिओ हेर्न/पत्ता लगाउन मुश्किल पर्छ।

 

 

टिकटक वाच हिस्ट्रीबारे हामोड ओकोको ट्विटलाई सामाजिक सञ्जाल सल्लाहकार म्याट नभाराले रिट्विट गर्दै भनेका छन्, ‘नयाँ। टिकटक वाच हिस्ट्री।’ ओले टिकटकको सेटिङ्स अन्तर्गत रहेको वाच हिस्ट्री देखिएको पृष्ठको स्क्रिनसट सेयर गरेका छन्। उनले योसँगै टिकटकको हिस्ट्री ७ दिनसम्म हेर्न मिल्नेबारे समेत स्क्रिनसट गरेका छन्।

 

टिकटकले भने हालसम्म यस विषयमा सार्वजनिक रूपमा घोषणा गरेको छैन। तर वाच हिस्ट्री फिचरले धेरै प्रयोगकर्ताको समस्या समाधान गर्न (हेरिसकेको भिडिओ खोज्दा हुने तनाव कम गर्न) र समयको समेत बचत गर्न मद्दत मिल्ने विश्वास लिइएको छ।  एजेन्सी