२०८१ बैशाख १३ , बिहिवार

ओस्कारको मञ्चमा झगडा, श्रीमतीमाथि ठट्टा गर्दा भड्किएका विल स्मिथले प्रस्तोतालाई हाने मुक्का

सुनाखरी न्युज/ काठमाडौं –

ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का हानेका छन् । जानकारीका अनुसार कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ असाध्यै रिसाए । उनी मञ्चमा गए र क्रिसलाई जोडदार तरिकाले मुक्का हाने ।

क्रिसलाई विलले किन हाने ?

क्रिस रकले फिल्म जी.आई.जेनको विषयमा विल स्मिथकी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका थिए । उनले जेडाको तालुपनामाथि कमेन्ट गर्दै भनेका थिए, ‘जी.आई. जेन टुको प्रतीक्षा जेडाले गर्न सक्दिनन् किनभने फिल्ममा मुख्य नायिकाको लुक ‘बाल्ड’ थियो ।’ श्रीमतीको यसरी मजाक उडाएको विललाई मन परेन र उनले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई मुक्का हानेर आफ्नो रिस व्यक्त गरे ।

ट्वीटरमा प्रयोगकर्ता चकित :

विलको यस्तो व्यवहारले सबैजना चकित परे । क्रिस रक मुक्का खाएको केही बेरसम्म चुप लागे । विलले उनलाई भने, ‘मेरी श्रीमतीको नाम तिम्रो मुखबाट आइन्दा ननिकाल ।’ क्रिसले जवाफ दिए, ‘यस्तो गर्नेछैन ।’ ओस्कर सन् २०२२ मा समावेश व्यक्तित्वका साथै कार्यक्रमलाई टिभीमा हेर्नेहरु पनि जिल खाए । केही मिनेटमै विल स्मिथ र क्रिस रक ट्वीटरमा ट्रेन्ड हुन थाले । यी दुईबारे अत्यधिक चर्चा पनि भइरहेका छन् ।  एजेन्सी