२०८१ बैशाख ३१ , सोमवार

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त

सुनाखरी न्युज/ काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ ।

 

शुक्रबार अपरान्ह नेपाल आउनु भएका विदेशमन्त्री वाङ विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेपनि कुनै औपचारिक कार्यक्रममा सहभागी हुनुभएन । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन् । तीन बजेदेखि मात्र उहाँको औपचारिक कार्यक्रम सुरु हुनेछ । दिउँसो साढे ३ बजेदेखि पौने ४ बजेसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदेशमन्त्री वाङबीच विशेष भेटवार्ता हुनेछ ।

 

विदेशमन्त्री वाङसहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । विदेशमन्त्री वाङ यीले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जसअनुसार उहाँ पौने ६ बजेदेखि सवा ६ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा व्यस्त हुने तालिका छ ।

 

सोही क्रममा सवा ६ बजेदेखि साढे ६ बजेसम्म प्रधानमन्त्री देउवासँगै विदेशमन्त्री यीले काठमाडौंबाट भर्चुअल रूपमा हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागिता जनाउनेछन् । त्यसपछि परराष्ट्रमन्त्री खड्काले आजै साँझ विदेशमन्त्री यीका लागि आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।