२०८१ बैशाख ७ , शुक्रवार

चन्द्रागिरि नगरपालिकाले कार्यान्वयनमा ल्यायो स्वास्थ्य बीमा कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं –

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ ।

 

हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्यचौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य सस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसैगरी चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ । नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्तरुपमा बुधबार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरे ।

 

 

आजदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन सुरु गर्ने जनाइएको छ । नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ । बीमा आबद्ध भइसकेपछि रु एक लाखसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ ।  ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ । यसका लागि तीनजनासम्मका परिवारले रु तीन हजार पाँचसय योगदान रकम तिर्नुपर्नेछ ।

 

 

अतिगरिब, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । सो अवसरमा नगरप्रमुख गिरीले भने, “म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरवासीलाई आह्वान गर्दछु । यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ । नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ ।  नगरभित्रका सबै स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौँ ।” पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।

 

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न रु चारलाख विनियोजनसमेत गरेको छ । यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ । नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको नगर प्रमुख गिरीले जानकारी दिए । उनले भने, “समृद्ध चन्द्रागिरि बनाउने मेरो अभियान जारी छ । यसका लागि मेरो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम भए । केही सम्पन्न हुने चरणमा छन् ।” समग्र स्वास्थ्यको सूचाङ्ककमा चन्द्रागिरिको अवस्था राम्रो भएको जनाइएको छ । रासस