२०८१ बैशाख १४ , शुक्रवार

नेप्सेले गऱ्यो कम्पनीहरूको वर्गीकरण, ए समूहमा परे यी ३६ कम्पनी ! (सूचि सहित)

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३६ कम्पनी ए समूहमा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो ।

नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा कम्पनीहरुलाई वर्गीकरण गर्दछ । विनियमावलीअनुसार चुक्ता पुँजी कम्तीमा १ अर्ब भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणभा भएको लगायतका मापदण्ड पुरा भएका कम्पनी ए समूहमा पर्दछन् ।

त्यस्तै बी समूहमा पर्नका लागि चुक्ता पुँजी कम्तीमा ५० करोड भएको, सूचीकरण भएको ३ वर्ष भएको, विगत तीन आर्थिक वर्षमा कम्तीमा दुई आर्थिक वर्ष नाफा गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । सूचीकृत भएको २ वर्ष नपुगेका कम्पनी जी समूहमा पर्दछन् भने ए, बी र जी समूहमा नअटाएका कम्पनी जेड समूहमा पर्दछन् ।

नेप्सेले वर्गीकरण गरेका समूहमा पर्नु नपर्ने कारणहरु कम्पनीहरुले ३५ दिनभित्र दावीसहितको आवेदन दिन सक्नेछन् । ए समूहमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् । कुल २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य पुर्ण: सरकारी स्वामित्वको कम्पनी हो भने एनआईसी एसिया बैंक जेड समूहमा परेको छ ।

त्यस्तै विकास बैंकहरुबाट ४ कम्पनीहरु मुक्तिनाथ, कामना,, सांग्रिला र साइन रेसुङ्गा विकास बैंक ए समूहमा परे । फाइनान्सबाट आईसीएफसी र मञ्जुश्री, माइक्रोफानान्सबाट आरएमडीसी, जलविद्युतबाट अपी, अरुणभ्याली र बुटवल पावर तथा उत्पादनबाट शिवम् सिमेन्ट ए समूहमा सूचीकृत भएका छन् ।

बी समूहमा ९ कम्पनी परेका छन् भने जी समूहमा ३६ कम्पनी परेका छन् । टेलिकम, माथिल्लो तामाकोसी, नागरिक लगानी कोष लगायत कम्पनी जेड समूहमा परेका छन् ।