२०८१ जेठ ७ , सोमवार

नेपालको शानदार बलिङ, यूएई १६८ मै अलआउट

सुनाखरी न्युज/ काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको हो ।

 

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए । ९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए ।

 

युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराएपछि युएई ३५-४ को स्थितीमा पुगेको थियो । नेपालले १९ ओभरसम्म तीन तिव्र गतिका बलर प्रयोग गरेको थियो । तर सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गरे । दुवैले ४०-४० रन बनाए । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गरे । सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराए भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे ।

 

त्यसपछि सागर ढकालले बसिस हमिदलाई ४१औं ओभरमा ज्ञानेन्द्र मल्लबाट क्याचबउट गराउँदै ओडीआईमा डेब्यु विकेट लिए । हमिदले १४ रन बनाए । कासिफ दाउदले १८ रन जोडे । कासिफलाई सोमपालले ४६औं ओभरमा कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन् । कप्तान अहमेद राज १३ रन बनाएर आउट भए । उनलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।