२०८१ जेठ ७ , सोमवार

कपिलवस्तुमा निर्माण भएको मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन, विद्युत आपूर्तिमा सुधार

सुनाखरी न्युज/ कपिलवस्तु  । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२÷३३÷११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गर्नुभएको छ ।

 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै यस मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावट समेत कम भएको बताउनुभयो ।

 

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमश : ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज,ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायतका समस्या थियो । सालझण्डीमा ३३÷११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने छ ।

 

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसन र मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ ।