२०८० चैत्र १६ , शुक्रवार

रुसी हमलामा २५०० नागरिक मारिएको मारियुपोल जहाँ बाँच्नकै लागि संघर्ष गर्दैछन् युक्रेनी

सुनाखरी न्युज/ काठमाडौं –

रुसी हमलामा युक्रेनको मारियुपोल नर्कजस्तै बनेको छ । यहाँ बमबारीमा २ हजार ५०० भन्दा अधिक नागरिकले ज्यान गुमाएका छन् । यो आँकडा युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले दिएका हुन् ।

 

मारियुपोलमा रुसी हमलापछिको अवस्था देखाइएको ड्रोन फूटेज र स्याटेलाइट दृश्य सार्वजनिक भएको छ । अधिकारीका अनुसार शहरमा करिब ३.५ लाख मानिस फसेका छन् । उनीहरुलाई बिजुली, पानी र औषधिजस्ता आवश्यक बस्तुको अभाव छ । उनीहरुले ग्यास पनि पाएका छैनन् । माइनस ५ डिग्री तापक्रम भएको यो शहरमा यस्तो अभावका बीच ज्यान बचाउनु नै स्थानीयवासीका लागि सबैभन्दा ठूलो चुनौती भएको छ ।

 

मारियुुपोल सिटी काउन्सिलले मंगलबार करिब २ हजार कारमा मानिस शहरबाट बाहिर निक्लन सफल भएको जानकारी दिएको छ । यस बाहेक २००० भन्दा बढी साधन शहरबाट बाहिर जानका लागि राजमार्गमा लामबद्ध भएका छन् । मारियुपोललाई रुसी सैनिकले १ मार्चदेखि घेरेर राखेका छन् । यहाँबाट मानिसलाई सुरक्षित रुपमा निकाल्न सुरक्षा करिडोर बनाइएको छ । तर यहाँ करिडोर पनि धेरै समयसम्म काममा आउन सकेको छैन ।

स्थानीयवासी अन्यौलमा

​करिब २२५ किलोमिटर पर जपोरिजिया क्षेत्रमा भाग्न सफल भएका दुई महिलाले सोमबार मारियुपोलको भयावह अवस्थाको बारेमा बताए । लिडियाले रुसी बम उनको घरको नजिकै झरेको बताइन् । यसपछि उनले मारियुपोल छोड्ने फैसला लिइन् । गोलाबारीका कारण आफू शहर छोडेर भाग्नुपरेको उनको भनाइ छ । उनका अनुसार त्यहाँ लगातार बमबारीको आवाज सुन्न सकिन्छ । उनले हालै आफ्नो छिमेकीसँग कुरा गरेको र अवस्था थप बिग्रेको बताइन् । यसैले अब मारियापुल छोड्न सकिने वा नसकिने भन्ने पनि द्विविधा रहेको उनले बताइन् ।

६० जनाका साथ एक बेसमेन्टमा शरण लिइन्

लिडियाले करिब ६० जनाका साथ एक बेसमेन्टमा २ साता शरण लएको बताइन् । उनी आफ्नो अपार्टमेन्टबाट सामान लिनका लागि कहिलेकाहीँ जाने गर्थिन् । शहरबाट बाहिर जाने समयमा भएको घटना सुनाउँदै लिडियाले रुसी विमान अत्यन्त तल उडिरहेका बताइन् ।त्यहाँका बासिन्दालाई लगातार हमलाको डरले सताइरहन्छ । यसैले कयौं पटक उनीहरु बाहिर जानबाट रोकिनु परेको र बच्चालाई लुकाउनु परेको उनले बताइन् । अब मारियुपोलमा बस्न सम्भव नरहेको उनको निष्कर्ष छ ।

वर्षाको पानीमा सुप पकाइयो

स्वितलानाले करिब १७ जनालाई आफ्नो घरमा शरण दिएको बताएकी छन् । उनले वर्षाको पानी जम्मा गरेको र त्यसमा सुप पकाएको बताइन् । उनले भनिन्, ‘जब लडाइँ सुरु भयो, म शहर छोड्न चाहन्नथेँ । तर २४ घन्टा बमबारी हुन थालेपछि त्यहाँ बस्न मुस्किल भयो ।’

शहरको अन्तिम किराना स्टोर पनि बन्द

५७ वर्षकी स्वितलानाले आफ्नो छोरा मारियुपोलमै रहेको बताइन् । उनी छोराको विषयलाई लिएर अत्यन्त चिन्तित छिन् । तर छोराले सोही ठाउँमा बस्ने पैmसला लिएको छ । शहरमा अझै धेरै मानिस फसेका छन् । उनले आफ्ना छिमेकीलाई पनि शहर छोड्नका लागि भनिन् । तर देशको सबै ठाउँ त्यस्तै छन् । शहरमा रहेको अन्तिम किराना स्टोरमा पनि बमबारी भएपछि बन्द भएको उनले बताइन् । उनलाई पनि मानिस अब कसरी बाँच्नेछन् भन्ने थाहा छैन ।

‘अस्पतालमा बन्दी’

डोनेट्स्क क्षेत्रीय प्रशासनका प्रमुुख पावलो किरिलेन्कोले रुसी सैनिकले मारियुपोलको क्षेत्रीय आईसीयू अस्पतालमा मानिसलाई बन्दी बनाएर राखेको आरोप लगएका छन् । डाक्टर र बिरामीलाई उनीहरुको इच्छा विपरीत त्यहाँ रोकेर राखेका छन् ।

बेसमेन्टमा बसेका बिरामीको उपचार

किरिलेन्कोले अस्पताल बाहिर जान असम्भव भएको बताए । उनका अनुसार रुसी सेनाले भाग्नेलाई तत्कालै गोली हान्ने चेतावनी समेत दिएका छन् । किरिलेन्कोका अनुसार मानिस बेसमेन्टमै छन् । दुई दिनदेखि सवारी साधन अस्पताल जान सकेको छैन । चारैतिर अग्ला भवन जलिरहेको र रुसी सैनिकले नजिकैको भवनबाट करिब ४०० मानिसलाई भगाइदिएको उनले बताए । किरिलेन्कोका अनुसार अस्पताल कयौं दिन पहिले नै ध्वस्त भएको थियो । तर डाक्टरहरुले बेसमेन्टमा बिरामीको उपचार गरिरहेका छन् ।  एजेन्सी