२०८१ बैशाख ७ , शुक्रवार

रुसी सैनिकलाई जेलेन्स्कीको आग्रह– आत्मसमर्पण गर, मानवीय व्यवहार गर्छौँ

सुनाखरी न्युज/ काठमाडौं –

किभ । रुस–युक्रेन युद्ध सुरु भएको २० दिन पुगेको छ । युक्रेनको राजधानी किभमा मंगलबार बिहानै विस्फोटनहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आवासीय अपार्टमेन्टमा पनि रुसी क्षेप्यास्त्र आक्रमण भएको बताइएको छ ।

 

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले असन्तुष्ट रुसी सैनिकलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । सोमबार रातिको सम्बोधनमा जेलेन्स्कीले उनीहरूलाई मानवीय व्यवहार गर्ने पनि बताए । “मानिसलाई जसरी व्यवहार गर्नुपर्ने हो, हामीले तिमीहरूलाई त्यसरी नै व्यवहार गर्नेछाँै, सम्मानका साथ,” उनले भने । रुसी सेनाले आफ्ना जनतालाई गरेजस्तो व्यवहार आत्मसमर्पण गर्ने सैनिकलाई नगर्ने उनको भनाइ छ ।

 

दुई देशबीचको वार्ता मंगलबार पनि जारी रहने र यसअघिको कुराकानी राम्रै भएको जेलेन्स्कीले बताएका छन् । यही फेब्रअुरी २४ मा रुसी आक्रमण सुरुभएयता १२ हजारभन्दा बढी रुसी सैनिक मारिएका युक्रेनको दाबी छ । अमेरिकाले भने यो संख्या पाँच–छ हजार भएको जनाएको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । युक्रेनले आफ्ना १३ सय सैनिकको ज्यान गएको जनाएको छ । द गार्जियनबाट