२०८१ जेठ ४ , शुक्रवार

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

सुनाखरी न्युज/ काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

 

मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ । मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

 

मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर, साउदी सरकारले भने सो आरोप अस्वीकार गरेको छ । १३ न्यायाधीशको बेञ्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ ।