२०८१ बैशाख ३० , आइतवार

कमजोर बन्यो अर्थतन्त्र, शोधनान्तर स्थिति २४७ अर्ब घाटामा, रेमिट्यान्समा पनि गिरावट

सुनाखरी न्युज/ काठमाडौं ।

मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सात महिनामा २४७ अर्ब घाटामा पुगेको छ । यो वर्ष उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन सुस्ताएसँगै मुलुक भित्र भित्रने रकम कमी आएको छ । जसले गर्दा मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर घाटामा देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७-७८ को यसै अवधिमा सोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ कारेड ७६ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ८ करोड डलरले घाटामा देखिएको छ ।

चालु खाता ४१३ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता १०४ अर्ब ३९ करोड रुपैयाँ घाटामा रहेको थियो ।

विदेशिने श्रमिकको संख्या बढे पनि माघ महिनामा रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामा ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

२०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ ।

 

गत वर्षको यस्तै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो ।

 

 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि माघसम्म २६५.९ प्रतिशतले बढेर १ लाख ५२ हजार पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

 

माघसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । माघसम्म २ लाख जना नेपाली नयाँ काम पाएर विदेश पुगेका छन् । अघिल्लो वर्षको यही अवधिमा विदेशिने नेपालीको ८५।४ प्रतिशतले घटेको थियो ।