२०८१ जेठ ५ , शनिवार

खडेरीका कारण इथियोपियामा ८ लाख मानिस विस्थापित : राष्ट्रसंघ

सुनाखरी न्युज/ काठमाडौं ।

इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।  संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो ।

 

संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेको बताएका छन् । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिए ।

 

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ । साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै यहाँका ४० लाखभन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।एजेन्सी/ सिन्ह्वा