२०८१ जेठ ५ , शनिवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्य प्रतिब्यारेल १२७ डलर नाघको छ । कच्चा तेलको मूल्य अद्यावधिक राख्दै आएको ओइलप्राइस डटमकमका अनुसार मंगलवार बिहान कच्चा तेलको मूल्य १२७ डलर प्रतिब्यारेल नाघेको हो ।

 

आइतवार एक समय १३७ डलरसम्म पुगेको कच्चा तेलको भाउ दिनको अन्त्य हुँदा १२६ डलरमा झरेको थियो । सोमबार पनि एक समय १३१ डलर सम्म पुगेको भाउ अन्त्यमा १२३ डलरमा बन्द भएको थियो । पछिल्लो २ दिनको ट्रेण्ड हेर्दा तेलको मूल्य घट्दोक्रममा देखिएको छ ।

 

मंगलवार बिहान यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२७.८ डलर पुगेको छ । सोमबार साँझ कच्चा तेलको मूल्य १२३ डलर प्रतिब्यारेल रहेको थियो । रुस–युक्रेन युद्धका कारण पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । सोही प्रभावले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा चाप परेको छ। गत मार्च १६ तारेखमा इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट आएको नयाँ मूल्यसूची अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ।

 

हाल नेपालमा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १३३ रुपैयाँका दरले कारोबार भइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि निगमले अझै घाटामा कारोबार गर्नुपरेको निगमको दावी छ । पछिल्लो समय मूल्यस्थिरिकरण कोषको रकम समेत प्रयोगमा ल्याइएको निगमले आइतबार साँझ विज्ञप्ति जारी गर्दै जानकारी गराइसकेको छ ।