२०८१ जेठ ८ , मंगलबार

चौतारीको महाधिवेशनको तयारी तिव्र

राजाराम पौडेल/ पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । यहीं फागुन २७ र २८ गते पोखरामा आयोजना हुन लागेको महाधिवेशनलाई भव्य बनाउन मुल व्यवस्थापन समिति तथा महाधिवेशनलाई लक्षित गरेर निर्माण गरिएका विभिन्न उपसमितिले सक्रियता बढाएका छन् । सबै समितिको सक्रियतामा पोखरामा बेग्लै रौनक थपेको छ ।

 

विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्न कस्सिएका छन् । महाधिवेशनको प्रचारको लागि कास्की जिल्लाका विभिन्न ठाउँ तथा पोखरा आउने विभिन्न राजमार्गको नाकामा होडिङबोर्ड राखिएको छ । कास्की तथा छिमेकी जिल्लाका विभिन्न ठाउँमा स्वागतद्धार तथा डिजिटल होडिङबोर्ड समेत निर्माण गरिएको छ । केही ठाउँमा निर्माण हुने क्रममा रहेको मञ्च व्यवस्थापन उपसमितिका संयोजक राम्जी प्रसाद लम्सालले बताउनुभयो ।

 

अधिवेशनमा आउने पाहुनाको बसाईलाई ध्यान दिदै आवास व्यवस्थापन उपसमितिले प्रतिनिधिको विवरण अद्यावधिक गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । उता प्रचार समितिले जिंगलहरुको निर्माण गरिरहेको छ । विभिन्न सूचनामुलक सामाग्री मार्फत समेत महाधिवेशनको प्रचार गर्न थालिएको छ । महाधिवेशनको स्वास्थ्य उपसमितिले सोमबार मेडिसिटी हस्पिटलसँग एमओयू गरेको उपसमिति संयोजक जमुना वर्षा शर्माले जानकारी दिनुभयो । सबै उपसमितिले नियमित भेटघाट छलफल कार्यक्रम आयोजना गरिरहेका छन् ।

 

महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार कर्म । प्रेस चौतारीको मूल मर्म’ रहेको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।