२०८१ बैशाख २६ , बुधवार

विद्युत नियमन आयोगका पदाधिकारी चयन गरिँदै

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो।

 

यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानबिन समिति गठन गरी बर्खास्त गरेको थियो। विद्युत तथा ऊर्जा क्षेत्रको काम कारबाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो। सूचनाअनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिलासहित) रहने कानुनी प्रबन्ध छ। सूचनाअनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

 

आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ। आवेदन पेस गरेका उम्मेदवारको कार्ययोजनाको मूल्यांकन छनोट भई संक्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। विद्युत व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो।  रासस