२०८१ बैशाख २६ , बुधवार

बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान,उच्च क्षमताका प्रसारण लाइन बनाउने प्रक्रिया सुरु

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ।

 

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ। त्यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन्। १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ। उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्नेछ। महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महंगो पर्दैन।

 

प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्र २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउ प्राधिकरणले पहल सुरू गरेको छ। बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा अहिले सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ। कार्यकारी निर्देशक घिसिङले बारा-पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए। घिसिङले विरगञ्ज, पोखरिया र सुख्खाबन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताए।

 

‘त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत आपूर्ति उपलब्ध गराउने छौं,’घिसिङले भने,‘पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं।’हेटौंडा-ढल्केबर-इनरूवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पुर्‍याइने छ। बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले बताए।

 

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ। यसबाट प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत आपूर्ति दिन सकिने भएको छ। उद्योगलाई भरपर्दो र गुणस्तरीय विद्युत दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम् प्रयास गरिएको छ।