२०८१ जेठ ५ , शनिवार

कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा लागाइएको सबै प्रतिबन्ध हट्यो

सुनाखरी न्युज/ काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धहरु हटाएको छ । शुक्रबार बसेको उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय गरेका हुन् ।

 

कोरोना संक्रमण घट्दै गएको भन्दै सरकारले फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय गरेको हो । प्रचलित कानुन अनुसार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न र गराउन पाउनेछन् । तर यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्ड भने पालना गर्न आग्रह गरिएको छ ।

 

सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।