२०८१ जेठ ४ , शुक्रवार

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन उठाउन छाडे

सुनाखरी न्युज/ काठमाडौँ ।आफुहरुले पाउँदै आएको पेट्रोलियम पदार्थ विक्रीबाट प्राप्त हुने कमिसन काटिएपछि अहिले मुलुकभरका सबै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग इन्धन उठाउन छाडेका छन ।

 

शुक्रबार बिहानैदेखि देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन । अहिले उपभोक्ताले एक पटकमा प्रति लिटर पाँच रुपैयाँको दरले बढाईएको मुल्य तिर्दा समेत भनेको समय र ठाउँमा पेट्रोलियम पदार्थ नपाउने अवस्था आइलागेको छ । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

 

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, शुक्रबार बिहानैबाट निगमका डिपोबाट पेट्रोलियम पदार्थ उठेको छैन’ एसोसिएसनका एक सदस्यले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही कारण अहिले व्यवसायीले निगमको डिपोहरुबाट इन्धन नउठाएका हुन । यस्तो बिरोधमा उत्रिएका व्यवसायीले घोषणा गरेरै अब इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । शुक्रबार विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएकाले निगमको डिपोबाट इन्धन नउठेको जानकारि गराउँदै निगमका प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको यस्तो विरोधका कारण अहिले देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’

 

काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार बिहानैदेखि इन्धन नउठेको निगमको सो डिपोले जनाएको छ । अब डिपोबाट इन्धन नउठेपछि त्यसको प्रत्यक्ष प्रभाव पम्पहरुमा पुगेर पेट्रोलियम पदार्थ खरिद गर्ने आम उपभोक्ताहरुमा पर्ने निगमले जनाएको ।